पहिलो लहरको गल्ती नदोहोर्याऔं- डा. शेरबहादुर पुन
कोरोना महामारीको यो समयमा हाम्रो अर्जुन दृष्टि भनेको कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो । तर सरकारले आफ्नो प्राथमिकता यसमा नरहेको देखाएको छ । यसले हामीले पहिलो लहरमा गरेको गल्ती दोहोर्याउन लागेको त होइन ? भन्ने चिन्ता बढेको छ ।
पहिलो लहरको कोरोना महामारी केही मत्थर भएपछि हामी राजनीतिक सभासम्मेलन र जुलुसमा लाग्न थाल्यौ । सबैजसो राजनीतिक दलहरूले हजारौं मान्छे काठमाडौंमा उतार्ने होड चल्यो । त्यतिबेलासम्म पनि कोरोना मत्थर भइसकेको थिएन । भलै यसमा अन्य जात्रा उत्सवहरु पनि कारक छन् । तर यसको मुख्य जिम्मेवार राजनीतिक सभा सम्मेलन नै थिए । केही मत्थर भएको बेलामा हामीले गरेको यही लापरबाहीले दोस्रो लहरमा यति ठूलो क्षति व्यहोर्नुपरेको छ ।
अब सरकारले तोकेको चुनाव आउन मुस्किलले छ महिना पनि छैन । त्योभन्दा अघि नाराजुलुस गर्ने समय पनि चाहिएला । त्यो बीचमा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको कुरा आउँदैन । त्यो त पहिलो लहरपछि केही मत्थर भएको बेलामा सरकार र राजनीतिक दलहरूले देखाएको व्यवहारले पनि स्पष्ट पारिसकेको छ । चुनाव अघि राजनीतिक दलले जुलुस गर्नैपर्ने होला, घरदैलो गर्नै पर्ने होला । त्यस्ता गतिविधिको लागि २ महिना अघिदेखि तयारी सुरु होला ।
यस्तो अवस्थामा सुरक्षित हिसाबले कोरोनाबाट बचेर चुनाव सम्पन्न गर्नको लागि अबको चार महिनामा महामारी नियन्त्रणमा आउनु पर्छ । त्यसको लागि पर्याप्त खोप लगाउने गरी कार्यक्रम गर्ने हो भने त यो सम्भव पनि होला । तर, अहिलेसम्म खोपको बारेमा देखिएको अन्यौलले त्यो पनि सम्भव होला जस्तो लाग्दैन । त्यसैले सरकारले तोकेको मितिमा चुनाव गर्नु जनस्वास्थ्यको दृष्टिले चाहिँ उपयुक्त देखिँदैन ।
हामीले चाहँदा चाहँदै पनि काहीँ न काहीँ जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरिहालिन्छ । कोरोना भाइरसको महामारी पनि हरेक लहरमा शक्तिशाली र कमजोर बन्ने शृङ्खला हुन्छ भन्ने त देखियो । त्यसैले यो महामारीमा फेरि हामीले अर्को गल्ती नगरौं ।
साभार:- सामाजिक संजाल
No comments:
Post a Comment