डा. शेरबहादुर पुनले चर्चित फेलोसिप अस्वीकार गर्दा जापानीज प्रोफेसर नै चकित परे !
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२१ वैशाख
सन् २०११ मा जापानमा आफैँ अध्ययन गरेको विश्वविद्यालयबाट डा. पुनलाई फेलोसिप दिने निर्णय नै भैसकेको रहेछ । तर उनले त्यो फेलोसिपलाई त्यागे । जापानले विश्वकै अब्बल मानिने (जेएसपिएस) फेलोसिप दिएको अवस्थामा समेत अस्वीकार गरेर नेपालमै सेवा गर्ने अठोट गरेकोे प्रसंग सुनाउँदै डा. पुनले भने, ‘जापानको विश्वविद्यालयले दिएको चर्चित पोस्ट डक्टरेट फेलोसिपमा छनोट भएर पनि छोडेँ । जुन जापान सरकारले दिने प्रसिद्ध फेलोसिप हो ।’ त्यो फेलोसिप पाउनका लागि अमेरिकन तथा युरोपियनहरुसमेत तँछाडमछाड गर्ने उनी बताउँछन् ।
करिब तीन वर्षसम्म जापानमै बसेर अध्ययन–अनुसन्धान गर्नुपर्ने सो फेलोसिप गरेबापत मासिक करिब ७/८ लाख धन राशि पनि पाइने उनी बताउँछन् । त्यो फेलोसिप आफूले लिएको भए विभिन्न विदेशी विश्वविद्यालयमा काम गरी लाखौँ आर्थिक लाभ लिन सक्ने उनी बताउँछन् । सो फेलोसिप जापान सरकारले दिन स्वीकृत गरिसकेको अवस्थामा समेत आफू टेकु अस्पतालमा बिरामीको सेवामा जुटिरहेको प्रसंग उनले सुनाए ।
उनकै प्रोफेसरले जापानमा फेलोसिप पाएकाले त्यहाँ जानका लागि अनुरोध गरेका थिए ।
डा. पुनले आफ्नै प्रोफेसरले गरेको त्यस्तो अनुरोधको अस्वीकार गर्ने चिठी लेख्न तीन दिन लागेको प्रसंग कोट्याउँदै भने, ‘आफ्नो प्रोफेसरको अनुरोध अस्वीकार गर्न मलाई निक्कै अप्ठेरो लाग्यो, तीन दिन लगाएर म आउँदिन भन्दै प्रोफेसरलाई सानो चिठी लेखेँ ।’ त्यस्तो प्रतिष्ठित फेलोसिप अस्वीकार गरेको प्रति प्रोफेसर चकित भएको डा. पुनले सुनाए ।
अस्वीकारपछि ती प्रोफेसरले डा. पुनलाई इमेल पठाएछन्, ‘यस्तो प्रतिष्ठित फेलोसिप पनि अस्वीकार गरेको देखेर फेलोसिप नै लाजमर्दो भएको महसुस भयो, मैले सपनामा पनि सोचेको थिइनँ तिमीले यस्तो फेलोसिप अस्वीकार गर्छौ भनेर । तर, पनि तिम्रो निर्णयको कदर गर्छु । भविष्यमा आवश्यक परेको समयमा म तिमीलाई सहयोग गर्नेछु, मलाई सम्झनु ।’
त्यसो त उनी आफैँ पनि त्यस्तो प्रतिष्ठित फेलोसिप छोडेको प्रति छक्क परेछन् । उनले जसलाई यो प्रसंग सुनाए उनीहरुले डा. पुनलाई मुर्खको संज्ञा दिन समेत छुटाएनन् । उनी अहिले पनि कहिलेकाहीँ सम्झँदै आफैँ अचम्मित हुन्छन्, ‘मैले त्यो बेला कतै मुख्र्याइँ त गरेको हैन !’
स्रोत: नागरिक पत्रीका
No comments:
Post a Comment