#प्रकृतिको_निर्दयी_ललकार
हत्केलाका ठेलाहरु बेचेर
मलाई कापी कलम किनिदिने मेरो बा!
आफ्ना सारा चाहाना धरौटी राखेर
मेरा सपनाहरु किनिदिने मेरी आमा
मेरो दाइ छ भनी निर्धक्क भई
सुरक्षीत महसुस गर्ने मेरी बहिनी
जो मेरा सर्वस्व थिए
आज यो प्रकृतिको निर्दयी ललकारले
ति मेरा सर्वस्व म बाट हरण गरेको छ
लागिरहेछ रुखका हाँगाहरु लुछेर
एउटा थुटो मात्रै छोडेको छ निर्दयीले
अस्तित्वको नाममा
जो म छु एक असहाय थुटो
बिहानै समाचरमा सुने
त्यो प्रकृतिको निर्दयी ललकारको नाम "बाढी"रहेछ
यी मेरा आँटहरु आज बूढो ट्याक्टर झैँ
ठरठर् काँपीरहन्छन्
यी मेरा आँखाका मुलहरु फुटेर
झरना भई झरिरहन्छन्
त्यही कालो दिनको विध्वंस घटनाको यादमा
मेरा सर्वस्व गुमेको यादमा
हिजोका मेरा ति
सपनाहरूका रङ्गिन क्यानभास
आज सपनाहरुका रङ्ग हिन क्यानभास भएको छ
जहाँ,
कालो रङ्गको मात्रै एकछत्र राज छ
त्यो कालो दिन यता
म निद्रा कि देवीलाई अङ्कमाल गर्न बाट वञ्चित छु
हरेक रात निद्रा की देवी
मेरो कोठा भित्र प्रवेश गर्न आनाकानी गर्छिन्
जब,
बल्लतल्ल लछारपछार पार्दै
प्रवेश गराउँछु
तर लगत्तै म:म का डल्लो जस्ता
चिहानहरु दृष्टिगत हुन्छन्
मेरा बा!,आमा र बहिनीका
र झस्काउदै कुलेलम थोक्छिन् निद्रा कि देवी
हो म साच्चिकै,
आजकाल पानीका बाछीताहरुसँग पनि
डराउन थालेको छु
आज मेरो मनभरी पिडै पिडाको घना जंगल छ
म आज पटकपटक घोरिएर सोच्न विवश छु
मेरी आमाको
माया नै मायाले सन्तृप्त भएको त्यो पवित्र देह
र मेरो बा! को त्यत्रो पहाडै उठाउने भीमकाय देह
बगाउन सक्ने त्यो निर्दयी बाढी ले
नाथे यो कागजको तमसुक किन बगाउन सकेन।।।।
लेखक :- मुस्कान_पुन_मगर
गलकाेट नगरपालिका १० पाण्डबखनी
No comments:
Post a Comment