Friday, June 10, 2016

विद्रोह गरेर संविधान खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका
अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान
नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी
दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज
गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा
यादवले नयाँ संविधानमा आफ्ना असन्तुष्टिहरु
सार्बजनिक गरे । यादवले संघीय संरचना, नयाँ
संवैधानिक आयोग, नागरिकता सम्बन्धि व्यवस्था
लगायतमा भएका ‘कमजोरी’हरु औंल्याए ।
यादवका अनुसार क्षेत्राधिकार विनाका
संवैधानिक आयोगहरुको अर्थ छैन । हाल संविधानमा
मधेसी, मुस्लीम, आदिवासी जनजाती लगायतका
संवैधानिक आयोगहरु थप गरिएका छन् । ति
आयोगहरुको क्षेत्राधिकार नतोकिएको र १०
वर्षपछि पुनर्गठन हुनसक्ने संवैधानिक व्यवस्था गलत
रहेको यादवको तर्क छ ।
‘क्षेत्राधिकार विनाको पनि आयोग हुन्छ ?’ संघीय
गठबन्धनका संयोजकसमेत रहेका यादवले भने, ‘१० वर्षपछि
पुनर्गठन गर्ने भनिएको छ । पुनर्गठनको अर्थ पछि कायम
नहुन पनि सक्छ र खारेज हुन पनि सक्छ, त्यसैले यो काम
छैन ।’
उनले संघीय संरचना नै गलत भएको दाबी गरे ।
संविधानमा उल्लेख प्रदेश, इकाई र केन्द्रीय संरचना
संघीयतामा नहुने उनले बताए । ‘संघीयतामा प्रदेश र
केन्द्रमात्र हुन्छ तर इकाई पनि थपेर भ्रम छर्ने काम भएको
छ ।’
नागरिकता सम्बन्धि विशेष व्यवस्था भनिए पनि
अन्तरिम संविधान जति पनि नभएको उनले बताए ।
सेना-प्रहरीलाई समावेशी नबनाइएको र न्यायाधीश
पुनर्नियुक्तीको व्यवस्था हटाइएकाले पनि अहिलेको
संविधान असमावेशी र प्रतिगमनकारी भएको
यादवको भनाइ छ ।
यादवले भने, ‘यी सबै कुराले संविधान नश्लवादी छ ।
पुनर्लेखन नगरी हुँदैन । पुनर्लेखन भएन भने विद्रोह हुन्छ ।
विद्रोहले संविधान खारेज पनि गर्नसक्छ र पुनर्लेखन
पनि हुनसक्छ ।’

No comments:

Post a Comment