Thursday, June 23, 2016

‘सती घाँटु’का बारेमा तयार पारिएको वृत्तचित्र

रूद्र श्रीस मगर/सुरेश छन्त्याल
पाण्डवखानी (बागलुङ)
पछिल्लो समयमा लोपोन्मुख अवस्थामा पुगेको मौलिक लोकनृत्य घाँटुको वृत्तचित्र तयार गरिएको छ । बागलुङको गलकोट, पाण्डवखानीका मगर समुदायमा प्रचलित ‘सती घाँटु’का बारेमा तयार पारिएको वृत्तचित्र मगर समुदायको ऐतिहासिक पर्व चण्डी पूर्णिमा एवं बुद्ध जयन्तीका अवसरमा विमोचन गरियो ।सो वृत्तचित्र घुम्टे प्राकृतिक तथा सांस्कृतिक संरक्षण मञ्च पाण्डवखानीले आयोजना गरेको बुद्ध जयन्ती मेलाका अवसरमा सती घाँटुका मूल गुरुबा टेक बहादुर पुनमगर, गुरुबा गिरी प्रसाद थापामगर, लोक तथा दोहोरी गायक नवीन रानामगर, गायिका तारा श्रीसमगर र मोडल करुणा पुनमगरले सार्वजनिक गरेको हो ।सयौं वर्ष अघिदेखि मगर समुदायमा सती घाँटु नाच नाच्ने चलन रहँदै आएको छ । युवा संस्कृतिकर्मी एवं मोडल गोविन्द पुनमगरको निर्माणमा पाण्डवखानीमा नाचिने सती घाँटुको वृत्तचित्र तयार पारिएको हो । वृत्तचित्रको छायाङ्कन र सम्पादन भने वरिष्ठ छायाँकार दान बहादुर श्रीसमगरले गरेको हो । त्यस्तै वृत्तचित्रको लेखन तथा स्वराङ्कन पत्रकार रूद्र बहादुर श्रीसमगरले गरेको हो ।
वृत्तचित्र निर्माण गर्न तीन वर्ष समय लागेको बताउँदै निर्माता एवं प्रस्तुतकर्ता गोविन्द पुनमगरले लोप हुँदै जान थालेको मौलिक संस्कृतिप्रति युवा पुस्ताको आकर्षण बढाउन वृत्तचित्र तयार पारिएको बताए । साथै, वृत्तचित्रले सती घाँटुको प्रचार प्रसारमा समेत सहयोग पु¥याउने निर्माता एवं युवा संस्कृति पुनमगरको भनाइ रहेको छ । पुनमगरले वृत्तचित्र पोखरा र बागलुङमा छिट्टै प्रदर्शन गरिने तयारी भइरहेको समेत जानकारी दिए ।

No comments:

Post a Comment