फूलको थुंगा बहेर गयो
गलकाेट,३ भदौ
पाण्डबखानी अनलाइन खबर
राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा मंगलवार निधन भएको छ । १९७६ सालमा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मेका घिमिरेले नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेका छन् ।
नेपालका लोकप्रिय कविमध्ये एक घिमिरेका गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, पापिनी आमा लगायतका खण्डकाव्य र कालीगण्डकी, युवक, वैशाख जस्ता उत्कृष्ट कविताका साथै मालती मंगले जस्ता उच्चस्तरका गीतिनाटकहरू प्रकाशित छन् ।
१९९४ सालमा उनको पहिलो कवितासंग्रह नवमञ्जरी प्रकाशित भएको थियो ।
उनका कृतिमा राष्ट्रप्रेम, राष्ट्रिय वीरता गान, प्रकृतिको सजीव चित्रण र अतीत तथा वर्तमान दुवैप्रति समान संवेदना भेटिने समालोचकहरूको कथन छ ।
गौरी खण्डकाव्य नेपाली साहित्यकै उम्दा कलात्मक कृति हो । आफ्नी पत्नी गौरीको निधनपछि सम्झनामा उनले यो बेजोड शोककाव्य रचना गरेका थिए ।
यो खण्डकाव्य प्रकाशित भएदेखि आजसम्म पनि स्वदेश र विदेशमा जति नेपाली पुस्तकका प्रदर्शनीहरू भए, ती सबैमा सबभन्दा बढी बिक्री भएका पुस्तकमध्ये घिमिरेको गौरी र लक्ष्मीप्रसाद देवकोटाको मुनामदन अग्रपंक्तिमा रहेका छन् ।
उनको अश्वत्थामा खण्डकाव्य मानवताप्रतिको प्रेमको सशक्त चित्रण गर्ने कृति मानिन्छ ।
घिमिरेका प्रत्येक कृतिले राष्ट्रको धुकधुकी बोकेका छन् र सबै उमेरका मानिसलाई उत्तिकै प्रभावित बनाएका छन् ।
माधव घिमिरेको कृतिमा नेपालीपनको सुगन्ध भेटिने त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका प्राध्यापक नेत्र एटम बताउँछन् । ‘लोकलयलाई समात्न सक्ने उहाँको अद्भुत क्षमता थियो र उहाँका कृतिमा स्थानीयपन भेटिन्छ । शास्त्रीय छन्दमा लेख्ने गरे पनि नेपाली मौलिकताले उहाँका काव्यरचना सराबोर छन्,’ प्राध्यापक एटम भन्छन् ।
घिमिरेका शब्द, सोच, शिल्प र बिम्ब सबैमा मौलिकता र नेपालीपन भेटिने उनी बताउँछन् ।
उनले रचना गरेको ‘गाउँछ गीत नेपाली’ र ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ लगायतका गीतहरूमा राष्ट्रप्रेम र राष्ट्रिय स्पन्दन जीवन्त रूपमा देखा परेका छन् ।
नेपाली साहित्यलाई आधुनिक युगमा प्रवेश गराउनमा लेखनाथ पौडेलपछि अर्को महत्त्वपूर्ण देन दिनेमा माधव घिमिरे नै देखापर्छन् । अत्यन्तै परिष्कृत भएर पनि रोमान्टिक काव्यशिल्पको उचाइ माधव घिमिरेले नै प्राप्त गरेको उनका कृतिले प्रमाणित गरेका छन् ।
संस्कृतका सर्वश्रेष्ठ कवि कालिदास र बंगाली साहित्यका धरोहर नोबेल साहित्य पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरबाट प्रभावित भएका कवि घिमिरेले पनि आफ्ना काव्यमा दर्शनको गहिराइ र चिन्तनको परिष्कारलाई काव्यशशिल्पमा सफलतापूर्वक प्रस्तुत गरेका छन् ।
महाकवि देवकोटाको स्वच्छन्दतावादी धार र कविशिरोमणि लेखनाथ पौडेलको परिष्कारवादी काव्यधाराको बीचमा घिमिरेको काव्यले सुन्दर स्वरूप प्राप्त गरेको घिमिरेका कृतिमाथि विद्यावारिधि गरेका तथा नेपाल संस्कृत विश्वविद्यालयमा नेपाली विषयका सहप्राध्यापक रहेका डा लेखप्रसाद निरौलाको भनाइ छ । ‘विचारमा स्वच्छन्दतावाद र शिल्पमा परिष्कारवादलाई उहाँले सुन्दर तरिकाले मिश्रण गर्नुभएको थियो,’ डा निरौला भन्छन् । माधव घिमिरेका काव्यकृति जति सुन्दर छन् उनको जीवन पनि त्यति नै सुन्दर भएको डा निरौलाको कथन छ । ‘अनुसन्धानका क्रममा म उहाँलाई धेरैपटक भेट्न गएँ । उहाँले मसँग जहिले पनि हार्दिकतापूर्वक कुराकानी गर्नुभयो,’ उनी भन्छन् । कहिले पनि कसैको आलोचना नगर्ने घिमिरेको स्वभाव रहेको डा निरौला बताउँछन् । ‘मैले उहाँसँग उहाँका समकालीन साहित्यकारसँग प्रतिस्पर्धाको कुरा उक्काउन खोज्दा उहाँले त्यस्तो कुरै गर्नु हुँदैनथियो । सबैप्रति सकारात्मक धारणा राख्ने, जीवनलाई प्रकृतिसँग जोड्ने भएकाले पनि होला शायद उहाँले दीर्घजीवन पाउनुभएको थियो,’ उनी भन्छन् । उहाँलाई भेट्न जाँदा सबै पीर चिन्ता हराउने गरेको डा निरौला सम्झना गर्छन् । जीवनको सकारात्मक पक्षलाई नै घिमिरेले बढी जोड दिने गरेको डा निरौलाको भनाइ छ । राष्ट्रकवि माधव घिमिरेको निधनले नेपाली साहित्यको एक युगको अन्त्य गरेको साहित्यानुरागीहरूले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेको निधनले स्तब्ध बनाएको भन्दै ट्वीट गरेकी छन् । 'राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !'