Sunday, November 25, 2018

फटाहा मेयर : कोरिया भ्रमणको खर्च पालिकालाई तिराउने निर्णय गरे

फटाहा मेयर : कोरिया भ्रमणको खर्च पालिकालाई तिराउने निर्णय गरे
बागलुङ नगरपालिकाले नगर प्रमुख जनकराज पौडेलको कोरिया भ्रमण गर्दाको खर्च व्योहर्ने भएको छ । करिब २ महिना अघि पालिकामा कुनै पनि जानकारी नगराई कोरिया भ्रमण गरेका पौडेलको खर्च भुक्तानी गर्ने भएको हो । अघिल्लो कार्तिक २० गते बसेको पालिकाको बैठकले मेयर पौडेलको खर्च भुक्तानी गर्ने निर्णय गरेको हो ।
केही जनप्रतिनिधिको असहमतिका बावजुद पालिकाले सरकारी नियमानुसार भुक्तानी गर्ने निर्णय गरेको बताइएकोे छ तर भ्रमणमा अहिलेसम्म कति खर्च भयो भन्ने सहि बिल प्राप्त नभएको बताईन्छ । पालिकामा अनुमति नगराई कोरिया भ्रमण गरेका पौडेलले अहिलेसम्म एकिन बिल समेत पेश नगरेको प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवरले बताए । ‘कुन, के कार्यक्रममा गएका हुन् त्यो पनि थाहा छैन तर एक्कासी कोरिया भ्रमणको बजेट भुक्तानीको लागि विषय उठेपछि मात्र थाहा भयो उनी कारिया भ्रमण गरेका रहेछन्’ एक श्रोतले बताएको छ । कोरिया भ्रमणको सक्कली बिल समेत नगरपालिकामा पेश नभएको बताईन्छ ।
नगर प्रमुख पौडेलको कोरिया भ्रमणबारे धेरै पछि मात्र सार्वजनिक भएको छ । पालिकालाई जानकारी गराउनु पर्ने व्यवस्था भए पनि उनले कुनै जानकारी नगराई भ्रमण गरेका थिए । भ्रमणको खर्च भुक्तानीको लागि पालिकामा बिल पेश भएको बारे पछिल्लो समयमा सार्वजनिक रुपमै टिकाटिप्पणी हुन थालेको छ ।
नगरबासीले दुःखका साथ तिरेको कर जनप्रतिनिधिले विदेश भ्रमण, खानपिन र मोजमस्तीमा सक्न थालेको भन्दै नगर प्रमुख पौडेलको सर्वत्र आलोचना हुन थालेको छ । संस्थामा औपचारिक जानकारी नगराई कोरिया भ्रमण गरेका पौडेलले खर्च भुक्तानीको लागि पालिकामा बिल पेश गर्नुले जनप्रतिनिधिहरुले राष्ट्रको धनलाई ‘मामाको धन फूपुको श्राद्ध’को रुपमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ ।
नगर प्रमुख पौडेल र नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण केसी गत भदौ ३० गते कोरिया भ्रमणमा गएका थिए । उनीहरु दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘उर्वान टुरिज्म’ लाई लिएर संयक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनको ७ औँ विश्व पर्यटन सम्मेलनमा सहभागी भएका थिए ।
नगरको तर्फबाट नगर प्रमुखले कार्यक्रममा के प्रस्तुत गरे ? के गरे ? त्यहाँबाट के सिके र बागलुङ नगरपालिकाले त्यसबाट के सिक्यो भन्ने कुनै पनि खालको प्रतिवेदन समेत नबुझाएको उल्लेख गरिएको छ । पालिकाले खर्च भुक्तानी गर्ने निर्णय गरे पनि अहिलेसम्म भुक्तानी नभईसकेको बताईएको छ । पालिकाले भुक्तानी गर्ने निर्णय ग¥योे तर कति खर्च भयो र कति भुक्तानी गर्ने भन्ने बारे निर्णय भईसकेको छैन ।
भ्रमणबारे सक्कली बिल पेश गर्न अनुरोध गरिए पनि अहिलेसम्म सक्कली बिल पेश नहुनुले थुप्रै आशंका बढाएको टिप्पणी हुन थालेको छ । अँझ ‘सरकारी नियमानुसार भुक्तानी गर्ने’ भन्ने निर्णयले रकम दुरुपयोग हुने आशंका तीव्र्र रहेको उल्लेख गरिएको छ ।
यसबारेमा नगर प्रमुख जनक पौडेलले कोरिया भ्रमण आफुहरुको औपचारिक भ्रमण भएको र हालसम्म पालिकाबाट कुनै पनि रकम भुक्तानी नभएको बताएका छन् । पौडेलले कोरिया भ्रमण गर्दाको बिल भुक्तानी गर्न निर्णय गराउनुले सत्ताधारी दलका जनप्रतिनिधिहरु सत्ताको दुरुपयोगमा लागि परेको प्रष्ट हुने नागरिक समाजका एक व्यक्तिले बताए ।
साभार:- इपरी

No comments:

Post a Comment