लकडाउनमा पनि गाउँदैछिन् अञ्जु
पाण्डबखानी अनलाइन खबर
गलकाेट, ३० जेठ
सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्त अहिलेको लकडाउनको अवधिमा समेत सामाजिक कार्यका साथै सांगीतिक गतिविधिमा समेत सक्रिय छिन् ।
आफ्नै अञ्जु पन्त फाउण्डेसनबाट संगीतकर्मीदेखि सर्वसाधारणहरुलाई समेत खाद्यान्नसहितका राहत सामग्री वितरण गरिरहेकी गायिका पन्त बेला–बेलामा स्टुडियो भित्र प्रवेश गरेर गीत रेकर्ड गर्न समेत भ्याइरहेकी छिन् । ‘लकडाउनको अवधिमा पनि झण्डै एक दर्जन गीतहरु रेकर्ड गराइसकें, गायिका पन्तले कलाकर्मीसंग भनिन्- ‘ती मध्ये कुनै आधुनिक तथा यूगल गीतहरु रेकर्ड गरें भने केही गीतहरु जनचेतनामूलक पनि छन् ।’ उनले लकडाउनमै गाएका कतिपय गीतहरु भिडियोमार्फत सार्वजनिक भैसकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् ।
गायिका अञ्जु पन्तसंग संगीतकार चिरञ्जिवी भण्डारी ।
पछिल्लो पटक भने उनले गायक तथा संगीतकार चिरञ्जिवी भण्डारीको संगीत निर्देशनमा एउटा यूगल गीत रेकर्ड गराएकी छिन् । गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्दको ‘चोखो माया…’ शीर्षकको उक्त गीत केही दिनअघि मात्र रेकर्ड गरिएको हो ।
उक्त गीतमा सञ्जीव बराइलीको संगीत संयोजन छ भने यूगल गीतमा गायक दिपेन्द्र सोनामले गायिका पन्तलाई साथ दिएका छन् ।
संगीतकार भण्डारीका अनुसार उक्त गीत तीन शैलीमा सार्वजनिक गर्ने तयारी छ ।
‘गायिका अञ्जु पन्त तथा गायक दिपेन्द्र सोनामको स्वरमा यूगल गीत तथा गायक र गायिकाको स्वरमा एकल गीतको रुपमा समेत दर्शक तथा स्रोतामाझ आउने छ, संगीतकार भण्डारीका अनुसार लकडाउन खुकुलो भए लगत्तै यसको म्युजिक भिडियो निर्माण गरिने छ ।
संगीतकार भण्डारी भने आफैंमा राम्रा गायक पनि हुनु । उनको पछिल्लो गीत बिस्तारै बिस्तारै तिमी मेरी हुनु…टिकटक लोकप्रिय छ ।
उनको संगीत निर्देशनमा गायिका अञ्जु पन्त सहित शिव परियार, प्रमोद खरेल, मिलन नेवार, मेलिना राई, मनिषा पोखरेल, सुरज पौडेल गायक गायक–गायिकाले गीत गाइसकेका छन् ।
यसैबीच गायिका अञ्जु पन्तले आफ्नो फाउण्डेसनको तर्फबाट केही दिनपछि नै आफू सुकुम्बासी वस्तीमा राहत वितरण गर्न जाने कुरा बताएकी छिन् ।
No comments:
Post a Comment