भगवानलाई प्रसाद…(कविता)
गंगा थापा ‘भिक्षु’
थाह छैन
योग्य छु या छैन
किनकी
म बुकि हैन
र सुनगाभा पनि
न त लालीगुराँस हुँ
न त सयपत्री नै
र हैन म
पवित्र जल अनि अमृत दूध
तर पनि,
प्रसाद बन्न मन लाग्छ
भगवानको लागि
भगवान
ए भगवान !
तिमीलाई ढोग्न
तिमीलाई भेट्न
त्यत्ती रहर हराइसक्यो
जति आशा
यो मनमा सङ्लिन्थ्यो
जती विश्वास र भरोसा
मनभरी उर्लन्थ्यो
आस्था ढलेको हैन
विश्वास मर्यो अचेल
शरीर गलेको हैन
आत्म जल्यो अचेल
त्यसैले,
तिम्रो सामिप्यता हैन
तिम्रो लागि प्रसाद बनिदिन्छु
भगवान
ए भगवान !
मन्जुर हुनुपर्छ
तिमी पनि प्रजातान्त्रिक बन्नुपर्छ
तिमी र म बीच
लेनदेन हुनुपर्छ
संवाद र वार्ता हुनुपर्छ
कुनै कुनै मेरो कुरा
तिमी पनि सुन्नुपर्छ
त्यसैले,
इन्कार गर
मेरो जल,फूल र भेटी
बरु,
ग्रहण गर यो जिन्दगी नै
तिम्रो लागि भोजन बनिदिन्छु
स्वीकार गर
प्रसाद मानेर
हो भगवान,
तिम्रो लागि भोजन बनिदिन्छु
स्वीकार गर प्रसाद मानेर
No comments:
Post a Comment