ट्राफिक कारबाहीमा परेपछि अध्यक्ष पोखरेलद्वारा प्रहरीलाई धन्यवाद
काठमाडौं : नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ट्राफिक कारबाहीमा परेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई धन्यवाद दिएकी छन्।
कारबाहीबाट प्रभावित भएको बताउँदै उनले शुक्रबार प्रमुख ढकालकै कार्यकक्षमा गएर धन्यवाद दिएकी हुन्। सामाजिक अभियन्तासमेत रहेकी उनी पुस २८ गते थापाथलीमा लेन मिच्ने क्रममा कारबाहीमा परेकी थिइन्। पहिलो पटक ट्राफिक कारबाहीमा परेको बताउँदै उनले भनिन्,‘अस्पताल जानुपर्ने भएकाले हतारमा थापाथलीतिर गइरहेकी थिएँ।
लेन मिचिए छ। एकजना ट्राफिकले नम्र स्वभावमा कारबाही पर्नुभयो भने। मैले पनि उनलाई धन्यावाद दिँदै पाँच सय रुपैयाँ जरिवाना तिरेँ। उनको राम्रो व्यावहारले मन छोयो। त्यसैले धन्यवाद दिन आएकी हुँ।’
ट्राफिक प्रहरीको बोली र खटाइले आफू प्रभावित भएको उनले बताइन्। ‘ट्राफिक प्रहरी हाम्रै सुरक्षाका निम्ति खटिरहेका हुन्छन,’उनले भनिन्,‘गल्ती गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ। म पनि परेँ। केही दुःख छैन। यसबाट नयाँ अनुभव बटुलेको छु।’
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले पोखरेलबाट अरू जनताले पनि यस्ता व्यावहार सिक्नुपर्नेमा जोड दिए। ‘नागरिककै सुरक्षाका लागि दैनिक खटिरहेका छौँ,’ढकालले भने,‘कारबाहीमा परेर पनि हामीकहाँ आएर धन्यबाद दिनु भएकोमा हामी धेरै खुसी छौँ। सबैलाई समान व्यवहार गर्नुपर्छ।’ कानुन साना ठूला सबैका लागि लाग्ने उनको भनाइ छ।
माघ ८ गते केदार घिमिरे (माग्ने बुढा)ले पनि ट्राफिक कारबाहीमा पर्दा प्रहरीले राम्रो व्यवहार गरेको भन्दै चिट काट्ने प्रहरी र महाशाखा प्रमुख एसएसपी ढकाललाई धन्यवाद दिन गएका थिए।
No comments:
Post a Comment