निभाईयो, १७ सय रोपानी वन जल्दा करोडौँको क्षेती
- कृष्ण कँडेल/बागलुङ,
बागलुङ ताराखोलाको जंगलमा लागेको भिषण डढेलो तीन दिनपछि शनिबार साँझ नियन्त्रणमा आएको छ । तीन दिनदेखि लगातार खटिएका एक हजार भन्दा बढी स्थानीयवासीसँगै शनिबार पुगेको नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको बागलुङ निर्वाचन क्षेत्र नम्बर–२, प्रदेश सभा ‘क’ का प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले
जानकारी दिए । बिहीबार दिउसो ताराखोला–५ लाबाङपारिको खरबारीबाट सल्कीएको आगो फैलिएर १ हजार ७ सय रोपनी वन क्षेत्रको प्राकृतिक सम्पदा नष्ट गरेको छ । शनिबारमात्रै ५ सय भन्दा बढी स्थानीयसँगै २५ जना सेना प्रहरीले डढेलो
नियन्त्रणमा लिएको स्थानीय मालारानी आधारभूत
विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए ।
‘ठूलोमात्रामा फैलिएको आगो आज (शनिबार) बेलुका मथ्थर भएको छ, अप्ठ्यारा भिरपाखामा सामान्य धुँवा देखिएको बाहेक डढेलोको ज्वाला देखिएको छैन,’ घर्तीले भने, ‘राती र भोली दिनभरसम्म यहि अवस्था रहे आगो नियन्त्रण भएको भन्न सकिन्छ ।’
अहिले कतिपय अप्ठेयारो भिरपाखामा सामान्य धुँवा
देखिनुबाहेक सबै ठाउँको ठूलो आगो निभेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । डढेलो नियन्त्रण्यको लागि बिहबार दिउसोदेखि नै ताराखोलावासीले पालो बाँडेर दिउसो र राती दुबै समय लगातार खटिएका थिए । डढेलोस्थलभन्दा डेढ घण्टा टाढा उक्रुडाँडाबाट लगातार पानी बोकेर अग्नीरेखाको घेरा बनाई आगो नियन्त्रमा लिईएको युवावर्ष आधारभूत विद्यालयका
प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी दिए ।
‘हामीले सबैको पुरै समय आगो नियनत्रणमा लगाउन पाईयोस भनेर खटिएकाहरुलाई खाना खाने व्यवस्था समेत जंगलमै गरेका थियौँनिउरेले भने, ‘तीन दिनसम्म सबै काम छोडेर डढेलो नियन्त्रणमा जुटेका ताराखोलावासीले आज (शनिबार) साँझ बल्ल फुर्सदको सास फेर्न पाए ।’
काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको थियो । भिषण आगलागीले धस्मर र करिमेला गाउँमाथिको जंगल तथा वडा नम्बर–४ को तिनचुले सामुदायिक
वन आसपासमा रहेको प्राकृतिक सम्पदा नष्ट गरेको छ । स्थानीय वासीन्दाको व्यक्तिगत खरबारी, दुर्गा भावानी
माविको नाममा भएको वनसँगै सामुदायिक तथा सरकारी वनक्षेत्रमा रहेका रुख बिरुवा, घाँस, बन्यजन्तु र जडीबुटी नष्ट हुँदा करोडौँको क्षेती भएको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए ।‘यति ठूलो वनमा लगातारको आगोले यहाँका सबैकुरा पूर्ण रुपमा
ध्वस्त गरेको छ,’ उनले थपे, ‘क्षेतीको त हामी अनुमान पनि गर्नसक्ने अवस्थामा छैनौँ, करोडौँ मुल्य बराबरका प्राकृतिक सम्पदा नष्ट भएका छन् ।
No comments:
Post a Comment