Monday, December 4, 2017

साहित्यलाई मागी खाने थाली बनाईदियो

साहित्यलाई मागी खाने थाली बनाईदियो
सुझाव पनि दु:ख लाग्ने गाली बनाईदियो

फेद ढाल्न खोज्छ मान्छे भविष्य नसोची
बोट बिना नै फल खाने डाली बनाईदियो

फूल टिप्न जसले बोटै भाँचेर फ्याली दिन्छ
उसैलाई त्यहीँ बगैचाको माली बनाईदियो

सोझा साझालाई ठग्दै हिँड्ने आधार हुँदा
परिश्रम नगरी खाने अन्न बाली बनाईदियो

बिकृती फैलियो नेपाली साहित्य जगतमा
साहित्यको भविष्य नै कहाली बनाइदियो

जंगली जनावर भन्दा मान्छेसँग डराउनु
पैसाले नै उसलाई ठूलो जाली बनाईदियो

आफू उपरखुट्टी लाएर आनन्द सँग रमाए
कठै उस्लाई बाझो जोत्ने फाली बनाईदियो

सुनौला सपना देखाई झुठो आश्वासन दिए
अन्तत सर्जकको खल्ती खाली बनाईदियो

निशा श्रीस मगर
गलकोट नगरपालिका ३
बागलुङ

No comments:

Post a Comment